Rule 11
प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिन सक्ने
(१) नियम १० बमोजिम कुनै प्रस्ताव प्राप्त भएमा सम्बन्धित निकायले सो प्रस्ताव साथ संलग्न प्रतिवेदन जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा त्यस्तो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने नदेखिएमा प्रारम्भिक वातावरणीय परीक्षण मात्र गरे हुने प्रस्तावको सम्बन्धमा सो प्रस्ताव प्राप्त भएको मितिले एक्काईस दिनभित्र आफैले स्वीकृति दिनेछ र वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको सम्बन्धमा आफ्नो राय र प्रतिवेदनका दश प्रति संलग्न गरी प्रस्ताव प्राप्त भएको तीस दिनभित्र मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव प्राप्त भएमा सो प्रस्ताव साथ प्राप्त प्रतिवेदनका सम्बन्धमा राय सुझाव दिनको लागि मन्त्रालयले राष्ट्रिय स्तरको कुनै एक दैनिक समाचारपत्रमा सार्वजनिक सूचना प्रकाशन गरी सो प्रतिवेदन आफैले उतार गरी लैजान वा अध्ययन गर्नको लागि सर्वसाधारणलाई तीस दिनको समय दिनेछ ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सर्वसाधारणले राय सुझाव दिनको लागि मन्त्रालयले राष्ट्रियस्तरको कुनै एक दैनिक समाचारपत्रमा पन्ध्र दिनको समय दिई सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रतिवेदनका सम्बन्धमा सर्वसाधारण व्यक्ति वा संस्थाको कुनै राय सुझाव भएमा त्यसरी प्रतिवेदन पहिलो पटक प्रकाशन भएको मितिले तीस दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो राय सुझाव मन्त्रालयमा पठाई सक्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम कुनै राय सुझाव प्राप्त भएमा सो राय सुझाव र ऐनको दफा ६ को उपदफा (४) बमोजिम कुनै समिति गठन गरिएकोमा सो समितिले दिएको राय सुझाव समेतको आधारमा प्रतिवेदन जाँचबुझ गर्दा त्यस्तो प्रस्तावले वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने नदेखिएमा मन्त्रालयले प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिनेछ ।
(५) उपनियम (४) बमोजिम स्वीकृति दिँदा मन्त्रालय समक्ष प्रस्ताव प्राप्त भएको मितिले साठी दिन भित्र दिई सक्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको म्यादभित्र विशेष कारण परी स्वीकृति दिन नसकेमा मन्त्रालयले उक्त समय समाप्त भएको मितिले तीस दिन भित्र प्रस्ताव कार्यान्वयन गर्न स्वीकृति दिनेछ ।